शैलेश गुप्ता
पोखरिया । स्वावलम्बन विकास बैंक लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अन्तरक्रिया तथा बीमा रकम हस्तान्तरण कार्यक्रम पोखरियामा सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख रुबी ठाकुरले लघुवित्तले गाउँका महिलाहरूको आर्थिक सशक्तीकरण र गरिबी निवारणमा टेवा पुगेको बताइन्। उनले भनिन्, “पहिले साहुबाट चर्को ब्याजमा ऋण लिनुपर्ने, कहिलेकाहीं ऋण नै नपाउने अवस्था थियो। तर अब लघुवित्तबाट सहज रूपमा ऋण लिन र किस्ता किस्तामा तिर्न सकिने भएको छ।”
तर उनले बैंकको ऋण माफ हुन्छ भन्ने भ्रममा नपर्नसमेत आग्रह गरिन्। महिलाहरूले ऋण लिएर घर निर्माण, विवाह खर्च, वा घर खर्चका लागि प्रयोग गर्दा किस्ता तिर्न समस्या भएको भन्दै ऋणलाई व्यवसायमा लगानी गर्न सुझाव दिइन्।
इलाका प्रबन्धक शिवकुमार ठाकुरले लघुवित्तको स्थापना, उद्देश्य र यसको लाभबारे जानकारी गराए। शारदादेवी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण शाह कानु, पत्रकार शैलेश गुप्ता लगायतले मन्तव्य व्यक्त गरे। कार्यक्रम सञ्चालन शाखा प्रबन्धक मुकेशकुमार यादवले गरेका थिए।

कार्यक्रमको विशेष क्षणमा ५४ नम्बर केन्द्रकी सदस्य मराछो देवीको निधन भएकोमा उहाँको बीमा बापतको ४ लाख रुपैयाँको चेक उहाँका छोरा धर्मेन्द्र चौरसियालाई हस्तान्तरण गरिएको थियो।









