२०८२ फाल्गुन २० गते बुधबार

गरुडामा ब्रेजा कारबाट १३३ किलो गाँजा बरामद, चालक फरार

अशोक यादव

रौतहट | रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गरुडा नगरपालिका–५ झाझपुलस्थित सडकमा आज बिहान ९ बजेको समयमा चेकजाँचका क्रममा प्रहरीले एक ब्रेजा कारबाट १३३ किलो गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार ग ३ च ६८९६ नम्बरको रातो रंगको ब्रेजा कारलाई चेकजाँचका लागि रोके पनि चालकले गाडी हुक्याउँदै भाग्न खोजेपछि प्रहरी टोलीले त्यसलाई पछ्याएको थियो। पछ्याउँदै जाँदा गाडी झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा पुगेपछि चालक गाडी त्यहीँ छाडेर फरार भएका थिए।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले गाडी नियन्त्रणमा लिएर चेकजाँच गर्दा झोलामा प्याक गरिएको अवस्थामा कुल १३३ किलो गाँजा फेला परेको जानकारी दिए। फरार चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM