शैलेश गुप्ता ०९ असार, पोखरिया
पर्साको पोखरिया नगरपालिकाले आज एक कार्यक्रमको बीच सर्वसहमत रूपमा आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रमसहितको बजेट नगर प्रमुख तथा उपप्रमुखद्वारा हस्तान्तरण गरिएपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको हो।

पोखरिया नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ५९ लाख, सशर्त अनुदान (चालु तर्फ) २० करोड २१ लाख, समपूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड १३ लाख, तथा राजस्व बाँडफाँडबाट ९ करोड २८ लाख २७ हजार ४ सय ४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएकाे थियो। कार्यक्रम पोखरिया–४ स्थित प्राचीन पोखरेश्वर महादेव मन्दिरको सार्वजनिक धर्मशालामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द प्रसाद चौहान, प्रमानन्द प्रसाद पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोढ, कार्यपालिका सदस्य अजय कुमार कलवार, राधा साह कानु, रामबचन महतो, वडा सदस्यहरू, रेडक्रस सोसाइटी उपसाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, नेकपा एमाले नगर समिति अध्यक्ष विन्ध्याचल ठाकुर, राजु साह, मिताराम प्रसाद पटेल, गोवर्धन प्रसाद यादव, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई मूल्यांकनको आधारमा कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुले गर्नुभएको थियो।










