दिपेन्द्र चौधरी सहनी
पर्सा, धोबिनी | पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ जगरनाथपुर टोलमा चट्याङ लागेर एक घरमा भीषण आगलागी हुँदा करिब १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
शुक्रबार बेलुकी वर्षासँगै परेको चट्याङले स्थानीय असेसर दासको माटोको पराल छाएको घरमा आगो सल्किएको हो। आगलागीको समयमा घरका सबै सदस्यहरू भागेर ज्यान जोगाउन सफल भएका थिए।
अग्निकाण्डमा दासको घर, अन्नपात, लत्ताकपडा, भाँडाकुडा, गरगहना, टिभी, मोबाइल, सिलाइ मेसिन, पंखा लगायत सबै सामग्री जलेर नष्ट भएका छन्। घटनास्थलमा राखिएका चारवटा ग्यास सिलिन्डरमध्ये दुई वटा पड्किएको र बाँकी दुई वटा जलेर पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन्।
स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो। यतिबेला घटनाको विस्तृत अनुसन्धान र क्षतिको मूल्यांकन इलाका प्रहरी कार्यालय लंगडी र सशस्त्र प्रहरी बल भिस्वा टोलीले गरिरहेको जनाएको छ।









