अशोक यादव, जेठ २८
रौतहट । रौतहट प्रहरीले लुटपाट प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। यमुनामाई गाउँपालिका–१ स्थित झाझपुल नजिकै लुकिछिपी बसेका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा सोही स्थानका मुकेश महतो र सिताराम महतो रहेका छन्। उनीहरू ७–८ जनाको समूहमा लुटपाट गर्न तयारी अवस्थामा रहेको सूचना पाएपछि प्रहरीले उक्त स्थानमा छापा मारेको हो। बाँकी फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा दुर्गाभगवती गाउँपालिका–३, मत्सरीका ३५ वर्षीय कृष्णमणी झा मधेश प्रदेश ०७–००१ प ०००४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका थिए। झाझपुल नजिकै पुगेपछि लुटेरा समूहले उनलाई रोक्न खोजी धनमाल र मोटरसाइकल लुट्ने प्रयास गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिइ उक्त स्थानबाट कृष्णमणी झालाई सकुशल उद्धार गर्नुका साथै दुई जना लुटेरालाई पक्राउ गर्न सफल भएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।









