अशोक यादव
रौतहट । जनता समाजवादी पार्टी नेपालका युवा क्रान्तिकारी नेता तथा पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य, जिल्ला इन्चार्ज एवं दलित विकास समिति मधेश प्रदेशका सदस्य राजकुमार दास माथी केही अपराधिक प्रवृत्तिका व्यक्तिहरूले आज बाटो छेकेर ज्यान मार्ने उद्देश्यले सांघातिक हमला गर्ने प्रयास गरेको घटना बाहिर आएकाे छ ।

आज राति आईतबारकाे दिन गरुडाबाट आफ्नो घर फर्किदै गरेका नेता राजकुमार दासमाथी साँझको ६:३० बजे बिर्ता जामे मस्जिद अगाडि शेख जमरुलको नेतृत्वमा १० -१५ जनाको आपराधिक समूहले अचानक बाटो घेरी ज्यान मार्ने गरी हमला गर्ने प्रयास गरेको उनले बताएका छन् ।

उनीहरूले हमला गर्ने प्रयास गरेपनि नेता दास जसोतसो भागेर ज्यान जोगाउन सफल भएका छन । करिव छ महिना पहिले उनकै गाउँमा लागेको मेलामा भएको झगडाको पुरानो रिसीबि साध्न उनीहरूले आफूमाथि हमला गर्ने प्रयास गरेको नेता दासले बताए।

घटनामा संलग्न व्यक्तिहरूलाई कडा कार्यवाही गर्न माग गरिएको छ । भोलि उनीहरूमाथि मुद्दा दर्ता गराउने तयारीमा नेता राजकुमार दास लागेका हुन् ।









