निता चौधरी
तुलसीपुर, २१ जेठ । लुम्बिनी प्रदेश सभाका सांसद रेखा शर्माले समाजमा भएको जातिय र वर्गीय विभेदलाई अन्त्य गरी समृद्ध समाज निर्माण गर्नु पर्ने बताउनु भएको छ । तुलसीपुरमा जातिय विभेद तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा पुरोहितहरुसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पुरोहितहरु समाजका अगुवा तथा मार्गदर्शक भएकाले समाज परिवर्तनमा उहाँहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको हो । समृद्ध समाज निर्माणमा पुरोहित अर्थात समाजका अगुवाले खेलेको भूमिका आउँदा दिनमा दस्तावेजमा लेखिने समेत उल्लेख गर्नुभयो । जस्ले छुवाछुत र जातिय भेदभाव विरुद्ध राम्रो काम गरेर उदाहरणीय बन्द उसको मात्रै समेटिने पनि बताउनुभयो । सबैसबै व्यक्ति दस्तावेजमा समावेश हुन नसक्ने भएकाले दस्तावेजमा समावेश हुनका लागि समाजमा योगदान दिने काम गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जातिय विभेदको अन्त्य गरी जातिय सद्भावलाई कायम गर्नु पर्नेमा जोड दिनुभयो । समाजमा अझै पनि जातिय विभेद कायम रहेको भन्दै समाजको मेरुदण्डको रुपमा रहेका वर्गका नागरिकमाथि कुनै पनि किसिमको भेदभाव गर्न नपाइने उहाँको भनाइ छ । मान्छेमान्छे एउटै भएकाले जात, धर्म, वर्ग कुनै पनि आधारमा विभेद नरही यो मानवले बनाएको विभेद भएकाले यस्को अन्त्य पनि मानवले नै गर्नुपर्ने बताउनुभयो । सो अवसरमा अधिकारकर्मी निर्मल नेपालीले धर्ममा विभेद नभएको विभिन्न वेदमा लेखिएकाले सामाजिक रुपमा मात्रै मानवीय विभेद रहेको बताउनु भयो । जातिय रुपमा हुने विभेद र छुवाछुत समाजमा अझै पनि भेटिले भएकाले नकारात्मक कुराहरु त्याग्न सम्पूर्ण मावन जातीलाई आग्रह गर्नुभयो । विगतको तुलनामा जातिय विभेद विरुद्ध धेरै परिवर्तन भएको भन्दै अझै पनि केही नराम्रा प्रवृतिहरु रहेकाले त्यसलाई पनि परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । मानवलाई मावन बनाउने समुदाय नै दलित समुदाय भएकाले उनीहरुको काम स्वीकार्य हुने तर उनीहरुलाई स्वीकार्य नहुने गलत प्रवृति भएको उल्लेख गर्दै पुरोहितहरुलाई ढुक्क भएर दलितका घरमा गएर कर्मकाण्ड, पुजाआजा जस्ता कामहरु गर्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले शोषक र सामन्ती समाजले बनाएका यस्ता विभेदलाई अन्त्य गर्न नसक्दासम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने दावी गर्नुभयो । जन्मदेखि मृत्युसम्मका संस्कार पुजाआजाका काम, कर्मकाण्ड जस्ता शुभ कार्य जसमा पण्डित अर्थात पुरोहित विना सम्पन्न गर्न सकिदैन, त्यस्ता कार्यका लागि अझै पनि दलितहरुको घरमा नगइदिने अवस्था रहेको स्मरण गराउँनु भयो । यस्तो विभेदलाई हटाउनका लागि पुरोहितहरुको अनुभव र विचार सुन्ने र सोही बमोजिक आगामी योजना बनाउने हेतुले यो कार्यक्रमको आयोगना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र भण्डारीले मानव जातीको उत्पत्ति, विकास, वर्गीकरण लगायतका विषयमा प्रशिक्षण दिदै कुनै पनि वेद, धर्ममा जातियताका आधारमा विभेद छैन भन्ने कुराको उदाहरण सहित स्पष्ट पार्नु भएको थियो । उहाँले मानव भएकाले मानवताको कल्याण गर्न आग्रह गर्नुभयो । यसै गरी अधिवक्ता मोहन धितालले जातियता विरुद्ध बनेका ऐन कानुनको बारेका जानकारी गराउनु भएको थियो ।

नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैििङ्गक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । विसं २०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउन थालिएको हो । घोषणा गरेकै बर्षौँ वितिसक्दा पनि जातिय विभेद अन्त्य हुन नसक्नु दुखद पक्ष हो । तर आगामी दिनमा यसलाई सुधार गर्दै लैजान सकिन्छ ।
उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला बालबालिका शाखाका प्रमुख माया श्रेष्ठले गर्नु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा दलित महिला संघ दाङको सहकार्यमा कार्यक्रम भएकोे हो । कार्यक्रममा विभिन्न दलित संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।।









