पोखरा, असार १९ – राजधानीसहित देशभर चलिरहेका विभिन्न राइड सेयरिङ एपहरू प्रयोग गर्ने राइडरहरूले यात्रुहरूसँग अनधिकृत रूपमा बढी भाडा असुल गर्ने र एपबाहिर बार्गेनिङ गर्ने जस्ता कार्यहरू बढ्न थालेको गुनासो ट्राफिक प्रहरी कार्यालयमा आइरहेका छन्।
ट्राफिक प्रहरी महाशाखाले एक विज्ञप्ति जारी गर्दै यात्रुहरूलाई यस्तो अवस्था भोग्नुपरेमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन अनुरोध गरेको छ।
“यस्ता कार्यले सेवाग्राहीमा असन्तोष बढाएको छ र राइड सेयरिङ सेवाको विश्वासमा प्रश्न उठ्न थालेको छ,” ट्राफिक प्रहरी स्रोतले बतायो।
महाशाखाले राइडरहरूलाई पनि सचेत गराउँदै भनेको छ,
“कृपया एपमा देखिएको भाडा बमोजिम मात्र लिइयोस्। एपबाहिर बार्गेनिङ नगर्नुहोस्। यदि यस्तो कार्य गरेको भेटिएमा आवश्यक कारबाही गरिनेछ।”
यातायात सेवा आधुनिक बनाउँदै सर्वसुलभ बनाउने उद्देश्यले शुरू गरिएका यस्ता एपहरू यात्रु र राइडर दुवैका लागि सहज माध्यम बन्न थालेका छन्। तर भाडा अनियमितता र अनुशासनहीन व्यवहारका कारण सेवाको गुणस्तरमा असर परेको गुनासोहरू बढिरहेका छन्।
यात्रुहरू पनि यस्ता घटनाको प्रत्यक्ष साक्षी वा पीडित भएको खण्डमा चुप नबस्न, सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।









