म.रेयाज हुसैन / रातोन्युज
पर्सा — गणतन्त्र दिवसको अवसरमा पर्सा जिल्लाको सिमावर्ती जगरनाथपुर गाउँपालिका–१, दसौतामा निर्माण गरिएको पर्यटन सूचना केन्द्र, कुस्ती अखाडा, सशस्त्र प्रहरी बलको सुरक्षा पोस्ट तथा राष्ट्रिय ध्वज स्थलको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले फिता काटेर उद्घाटन गर्नुहुँदै सो स्थानलाई अतिक्रमणमुक्त गराई पर्यटकीय स्थलको रूपमा विकास गरिएको जानकारी दिनुभयो। भारतको ईनार्वा बोर्डर नजिकै रहेको यो क्षेत्र नेपाल–भारतका नागरिकका लागि रमणीय र घुम्नलायक गन्तव्य बन्ने उहाँको भनाइ थियो।
करीब ३० वर्षदेखि नारायणी सिचाइ आयोजनाको सार्वजनिक जग्गा केही व्यक्तिहरूद्वारा अतिक्रमण गरिएको थियो। वडा अध्यक्ष नेपाली कुशवाहाको पहलमा उक्त जग्गा अतिक्रमणमुक्त गराई पर्यटन बोर्ड र गाउँपालिकाको संयुक्त लगानीमा सुन्दरीकरण गरिएको हो।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी बल BOP भिखमपुरका डिएसपी रमेश कुमार गुरुङ, भारतीय SSB ईनार्वाका प्रमुख कोमल सिंह, जानकिटोलाका सई धर्मेन्द्र ठाकुर, वडाध्यक्षहरू बिहारी महतो, सुभाष साह, लक्ष्मी साह तेली, लेखापाल सन्देश कुशवाहा, इन्जिनियर सदाम हुसेन, स्वास्थ्य संयोजक प्रभेन्द्र साह, कांग्रेस नेता बलिष्टर अहमद, युवा नेता मन्जय गिरीलगायतको उपस्थिति रहेको थियो।









