२०८२ फाल्गुन २० गते बुधबार

नेपालगञ्ज–दिल्ली उडानका लागि औपचारिक पहल सुरु, भारत सरकारलाई ज्ञापनपत्र

नेपालगञ्ज, जेठ १५। नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियको संयुक्त पहलमा नेपालगञ्ज–दिल्ली उडान सुरु गर्न ठोस पहल गरिएको छ। बुधबार नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको विशेष बैठकमा विमान सेवा सुरु गर्न आवश्यक पूर्वाधार, कूटनीतिक प्रक्रिया र रणनीतिहरुमा छलफल भएको छ।

नेपालगञ्जबाट दिल्लीसम्मको सीधा उडानको सम्भावना खोज्दै हालै भारतको नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापनपत्र पठाइएको र त्यसपछि नेपालगञ्जका जनप्रतिनिधिहरूले नेपाल सरकारका विभिन्न निकायसँग छलफल अघि बढाएको जानकारी बैठकमा दिइएको थियो।

नेपालगञ्ज विमानस्थलमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको र केही अपुग पक्षहरू पुरा गर्न पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराइएको उद्योग वाणिज्य संघका अध्यक्ष टंकप्रसाद धामीले बताए। उनले भारत सरकारको सहयोग प्राप्त भएमा निकट भविष्यमै उडान सुरु हुने सम्भावना प्रबल रहेको धारणा राखे।

धामीका अनुसार, नेपालगञ्ज २८ जिल्लाको केन्द्रबिन्दु मात्र नभई मानसरोवरको प्रमुख गेटवेसमेत भएकोले भारतका धार्मिक पर्यटक तथा व्यापारीहरूका लागि सहज प्रवेशद्वार बन्नेछ। “यो उडानले भारतका नागरिकहरूलाई यात्रा गर्न थप सहज बनाउनेछ,” उनले भने, “हामी अतिथिका रूपमा आउने सबैको स्वागत गर्न तयार छौं।”

भारत मैत्री संगठन अन्तर्राष्ट्रियका सदस्य आशिष कुमार गुप्ताले भने, “यो उडानले रोटी–बेटी सम्बन्ध थप मजबुत बनाउनेछ र व्यापारिक सम्भावनालाई समेत विस्तार गर्नेछ।”

बैठकमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, नाटा बाँकेका अध्यक्ष श्रीराम सिद्धिल, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.का, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि बसन्त कुमार कनौजिया, उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाट, होटल व्यवसाय संघका अध्यक्षलगायतको उपस्थिति थियो।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको बताइएको बैठकमा सहभागीहरूको भनाइ थियो कि यदि भारत सरकारले सकारात्मक संकेत दिएको खण्डमा तीन वटा प्रदेशका जनताले यसलाई महत्वपूर्ण उपलब्धि ठानेर भारत सरकारलाई धन्यवाद दिनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM