मेवालाल यादव
रौतहट । गत केही महिनाअघि मधेस प्रदेश सरकारका कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेर सीमित समयमै उल्लेखनीय उपलब्धि हासिल गरेका मन्त्री बसन्त कुशवाहाले अब उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको नेतृत्व ग्रहण गर्नुभएको छ। नयाँ जिम्मेवारी पाएपछि मन्त्री कुशवाहाले उद्योग प्रवर्द्धन, व्यापार विस्तार र पर्यटन क्षेत्रको पुनरुत्थानसँगै रोजगारी सिर्जनामा केन्द्रित हुने प्रतिबद्धता जनाउनुभएको छ।
मन्त्री कुशवाहाले मधेस प्रदेशका आठवटै जिल्लामा एक लाख रोजगारी सिर्जना गर्ने स्पष्ट योजना अघि सार्नुभएको छ। उहाँले देशको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै लघु, साना तथा मझौला उद्योग (MSME) को प्रवर्द्धन, नयाँ उद्योग खोल्न सहज वातावरण बनाउने, घरेलु तथा परम्परागत व्यवसायहरूलाई आधुनिक प्रविधिसँग जोड्ने, र युवालाई स्वरोजगारमुखी तालिम तथा लगानी सुविधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ।
कृषि मन्त्रालयमा रहँदा मन्त्री कुशवाहाले करिब चार महिनाको अवधिमा मलखाद संकट समाधान गर्दै लाखौं किसानलाई राहत पुर्याउनु भएको थियो। उखु किसानदेखि धान उत्पादक किसानसम्मका समस्या सम्बोधनमा उहाँको सक्रियता व्यापक रूपमा सराहिएको थियो। उहाँको कार्यशैली व्यवहारिक, दूरदर्शी र परिणाममुखी रहँदै आएको देखिन्छ।
अब नयाँ मन्त्रालयमा जिम्मेवारी सम्हाल्नासाथ उहाँले रोजगारी, उद्योग प्रवर्द्धन र पर्यटन पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्नु भएको छ। उहाँका भाइ तथा सामाजिक अभियन्ता डा. सुबन्त कुशवाहाले मन्त्रीको रोजगारी सिर्जनामूलक योजनालाई सहयोग पुर्याउने प्रतिबद्धता जनाउँदै, “यो केवल लक्ष्य होइन, यो अभियान हो — हामी सबैले साथ दिनुपर्छ,” भन्नुभयो।
देशको युवाशक्ति विदेश पलायन हुने अवस्थालाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नु आजको आवश्यकता हो। यसतर्फ मन्त्री कुशवाहाको पहलकदमी महत्वपूर्ण मानिएको छ। साथै, पर्यटन क्षेत्रको पुनरुत्थानका लागि क्षेत्रगत प्रवर्द्धन, होमस्टे, आन्तरिक पर्यटन र ऐतिहासिक धार्मिक स्थलहरूमा पूर्वाधार विकास योजनाहरू पनि अघि सारिँदैछन्।
समग्रमा, मन्त्री बसन्त कुशवाहाको नयाँ नेतृत्वले उद्योग, व्यापार र पर्यटन क्षेत्रमा नयाँ आशा बोकेको छ। जनताले उहाँबाट परिणाममुखी कार्य देख्ने विश्वास गरेका छन्।









