नरेशचन्द्र बरबरिया
सिरहा जेठ १३ गते । हानिकारक परम्परागत अभ्यासजस्तै बालविवाह र लैंगिक हिंसाको रोकथाममा देखिएको समस्या र चुनौतीहरूबारे सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सदरमुकाम सिरहा स्थित पुस्तकालयको सभाहलमा मुक्ती नेपाल, गोलबजारको आयोजनामा सरोकारवालाहरु सिरहा जिल्लामा बालविवाहको अवस्था र समस्या, लैंगिक हिंसाका अवस्था, उपलब्धि लगायत समाजमा घटिरहेको घटना सम्बन्धि गहन छलफल भएको हो ।
कार्यक्रममा वक्ताहरूले बालविवाह र लैंगिक हिंसा गाउँ–सहर दुबै क्षेत्रमा अझै पनि चुनौतीको रूपमा विद्यमान रहेको भन्दै यसका कारण, प्रभाव र समाधानका उपायबारे धारणा राखेका थिए।
उनीहरूले कानुनी चेतना अभाव, सांस्कृतिक मान्यता, गरिबी, अशिक्षा र राज्यको कमजोर अनुगमन प्रणालीलाई मुख्य कारणका रूपमा औंल्याए।
मुक्ति नेपालका जिल्ला कार्यक्रम संयोजक बिशेश्वर दासले कार्यक्रमको औचित्य तथा सिरहा जिल्लाको बालविवाहको अवस्था तथ लैंगिक हिंसाको अवस्था समस्या बिषयक प्रस्तुति सरोकारवाला बिच प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्देश्य र संगठनद्वारा सञ्चालित विभिन्न अभियानबारे जानकारी गराउँदै यस्ता अन्तरक्रियाले नीति निर्मातादेखि आम नागरिकसम्म सचेतना फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहको भूमिकालाई अझ प्रभावकारी बनाउँदै शिक्षा, सामुदायिक नेतृत्वको सशक्तिकरणमार्फत बालविवाह र लैंगिक हिंसा अन्त्यको लागि पहल गर्ने बताए ।
मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेश प्रदेशका पुर्व कानुन मन्त्री प्रमोद यादव बिशिस्ट अतिथिमा सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्त राम शर्मा , अधिवक्ता मदन साह , जिल्ला समन्वय समिति सिरहाका उपाध्यक्ष दिलिप लामा, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परिवार , निरीक्षक धर्मेश कुमार यादव, सिरहा नगरपालिका -११ का वडा अध्यक्ष बिनोद कामती, सिरहा नपा-१० का वडा अध्यक्ष दिपक मुखिया , स्थानीय निकायका प्रतिनिधि, सुरक्षाकर्मी, महिला तथा बालबालिका अधिकारकर्मी, सञ्चारकर्मी, शिक्षक, युवा तथा महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अभिलेख अधिकृत संजु कुमारी दासले गरेका थिए ।









