दिपेन्द्र चौधरी सहनी
पोखरा, वैशाख १०– मधेश कास्की सम्पर्क समाजले शनिबार पोखरामा आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेश आयोगका कार्यबाहक अध्यक्ष जीवछ शाहले तराई क्षेत्रमा देशको ३३ प्रतिशत भूभागमा ५३ प्रतिशत जनसंख्या बसोबास गर्ने बताएका छन्।
शाहले छठ र जितिया जस्ता पर्व अब अन्य समुदायले पनि मनाउन थालेकोमा खुसी व्यक्त गरे। उनले निजामति सेवामा मधेसीको न्यून सहभागिता औंल्याउँदै अध्ययनमा लगनशील भई सेवा प्रवेश गर्न आग्रह गरे। “८ प्रतिशत मात्र मधेसी निजामति सेवामा छन्,” उनले भने, “त्यसमध्ये प्राविधिक क्षेत्रमा बढी छन्, प्रशासनिक क्षेत्रमा कम। महिलाको सहभागिता झनै न्यून छ।”
कार्यक्रममा उनले मधेशी समुदायमा शिक्षा, संगठितता र एकताको आवश्यकता औंल्याउँदै कास्कीमा रहेका करिब ४७ हजार मधेशीलाई एकताबद्ध हुन आह्वान गरे। उनले मधेश कास्की सम्पर्क समाजलाई महासंघको रूपमा विस्तार गर्न सुझावसमेत दिए।
समाजका अध्यक्ष सतेन्द्र कुमार दासले दुई वर्षको अवधिमा समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै, मधेसी समुदायका लागि एम्बुलेन्स सेवा आवश्यक रहेको बताए।
कार्यक्रममा आम जनता पार्टी गण्डकी अध्यक्ष महेन्द्र शर्मा, जनता समाजवादी पार्टी गण्डकी प्रदेश अध्यक्ष मधुकर न्यौपाने, कलवार कल्याणकारी सेवा समाजका अध्यक्ष अशोक चौधरी लगायतले समुदायका पीडा बुझ्न सक्ने र संगठनलाई प्रभावकारी बनाउने सुझावहरू राखे।कार्यक्रमको सञ्चालन सचिव लिलाधर पटेलले गरेका थिए।









