नेपालगञ्ज, बैशाख — नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले भारत सरकार समक्ष नेपालगञ्ज–दिल्ली सीधा हवाई उडान सुरु गर्न आग्रह गरेको छ। नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहमार्फत भारतको केन्द्रीय विमान मन्त्रालयमा औपचारिक आग्रहपत्र पठाइएको हो।
नेपालगञ्जका सामाजिक अभियन्ता तथा नेपाल भारत संगठनका केन्द्रीय सदस्य आशिष कुमार गुप्ताको पहलमा गरिएको यो आग्रह लामो समयदेखि उठ्दै आएको मागलाई मूर्तरूप दिने प्रयासस्वरूप भएको जनाइएको छ।नेपालगञ्ज मानसरोवर यात्रा जाने प्रमुख नाका हो। यहाँबाट भारतीय पर्यटकहरूको आगमन सहज र सुविधाजनक हुने भएकाले दिल्ली–नेपालगञ्ज सीधा उडान पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने स्थानीय व्यवसायीहरू बताउँछन्।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाट, नेपाल भारत मैत्री संगठनका जिल्ला अध्यक्ष र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा भारत सरकारको ध्यानाकर्षण गराइएको थियो।अध्यक्ष अनुप कुमार सिंहले भने, “यदि दिल्ली–नेपालगञ्ज उडान सुरु भयो भने यसले नेपालगञ्जलाई पर्यटनको हब बनाउनेछ र नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुनेछ।”नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले भारत सरकारले यस मागलाई सम्बोधन गरे नेपाल र नेपालगञ्ज आभारी हुने जनाउँदै छिट्टै सकारात्मक उत्तरको अपेक्षा राखेको छ।









