२०८२ मंसिर २ गते मंगलवार

रौतहटको ईशनाथमा महादेव मन्दिरको निर्माण सुरु, जनमत पार्टीका उम्मेदवार आलमबाट शिलान्यास

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ स्थित औरैयामा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महादेव मन्दिरको निर्माण कार्य आजदेखि सुरु भएको छ। मधेस प्रदेश सरकारअन्तर्गत पर्यटन मन्त्रालयको लगानीमा मन्दिरको गेट र मुख्य संरचना निर्माणको थालनी गरिएको हो।

शिलान्यास कार्यक्रम जनमत पार्टीका प्रदेशसभा सदस्य उम्मेदवार शेख मोहम्मद आलम (उर्फ बाबु साहेब) र ईशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी सिन्हाको प्रमुख उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै उम्मेदवार आलमले प्रदेश सरकार विकास र धार्मिक सम्पदाको संरक्षणप्रति प्रतिवद्ध रहेको बताउँदै, यस्ता परियोजनाले स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

नगरप्रमुख सिन्हाले स्थानीयको दीर्घकालीन माग अनुसार मन्दिर निर्माण शुरु भएको बताउँदै, आगामी दिनहरूमा थप विकास योजना ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीय बासिन्दाहरूले सरकारले धार्मिक क्षेत्रको विकासमा चासो देखाएकोमा खुशी व्यक्त गर्दै, योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

कार्यक्रममा जनमत पार्टीका केन्द्रीय नेता रामेश्वर झा, रामशंकर ठाकुर, वडा नं. २ का अध्यक्ष धर्मेन्द्र साह, वडा नं. ३ का अध्यक्ष, औरैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष किशोरी यादव, युवा नेता दिल बहादुर दास, मोहम्मद नसिम, उदय साह कानु लगायत जनमत पार्टीका स्थानीय नेता, कार्यकर्ता, सञ्चारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM