दिपेन्द्र चौधरी सहनी
पर्सा, छिपहरमाई — छिपहरमाई गाउँपालिका वडा नं. ४ स्थित तुल्सीवर्वा टोल बन्जारीमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको छिपहरमाई मन्दिरसम्मको बाटो अब पक्की ढलान हुने भएको छ।मोहन यादवको घरदेखि मन्दिरको मुख्य प्रवेशद्वारसम्मको कच्ची बाटो वर्षौंदेखि जिर्ण अवस्थामा रहेको र श्रद्धालुहरूलाई आवागमनमा समस्या हुँदै आएकोमा अब उक्त बाटो ढलान गरिने भएको हो।
सो कार्यको शिलान्यास वडा अध्यक्ष श्री रामेश्वर महतो केवटले एक कार्यक्रमकाबीच गर्नु भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री मनोज गुप्ता, इञ्जिनियर रामबालक यादवको उल्लेखनीय सहयोग रहेको छ।शिलान्यास कार्यक्रममा स्थानीय अगुवा तथा समाजसेवीहरू मुन्ना वर्मा, गणेश यादव, चुनमुन सिंह, जवाहिर हजरा, हिरालाल यादव लगायत अन्य दर्जनौं स्थानीयको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतोले भन्नुभयो, “छिपहरमाई मन्दिर हाम्रो धार्मिक आस्थाको केन्द्र हो। यहाँ पुग्ने बाटो सुधार गर्नु हाम्रो कर्तव्य हो। आगामी दिनमा अरू आवश्यक पूर्वाधारहरू पनि क्रमशः विकास गर्दै लानेछौं।”स्थानीय बासिन्दाहरूले बाटो सुधारको कार्यलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन्। धार्मिक पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको छिपहरमाई मन्दिरसम्मको सुविधाजनक पहुँचले स्थानिय विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।









