अशोक यादव, बैशाख ३०, रौतहट।
रौतहटको कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्रमा एक २१ वर्षीया नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया–३ बड़ेरवा टोल स्थायी बासिन्दा तथा हाल कटहरिया–५ मा बसोबास गर्दै आएका अहमद राय भाटका छोरा अरमान राय भाटकी श्रीमती सानिया प्रविन मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाई छतको फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको हो। घटनाको जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट संयुक्त टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जनाएको छ।
पोष्टमार्टमपछि मृतक सानियाको शव उनकी आमा कायमा खातुनले बुझेर भारतको बिहार, पूर्वी चम्पारण जिल्ला सुगौलीस्थित माइतीतर्फ लगिएको प्रहरीले जनाएको छ। मृतककी आमा खातुनका अनुसार छोरी सानियाको विवाह करीब ६ महिना अघि मुस्लिम परम्पराअनुसार अरमान राय भाटसँग भएको थियो।
विवाहपछि ज्वाईँ अरमानले निरन्तर दाइजोको माग गर्दै सानियामाथि शारीरिक र मानसिक यातना दिने गरेको खातुनले बताइन्। उनले छोरीले यातना सहन नसक्दा योजनाबद्ध रुपमा हत्या गरी आत्महत्या देखाउने प्रयास गरिएको आरोपसमेत लगाइन्।
यस सम्बन्धमा मृतकका आफन्तले ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएका छन्। यता ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले भने हालसम्म घटनाविरुद्ध जाहेरी दर्ता नभएको बताएका छन्। उनले घटनालाई शंकास्पद मान्दै अनुसन्धानपछि मात्र यकिन भन्न सकिने र कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्।









