अशोक यादव
रौतहट, बैशाख २९ । रौतहटका नवनियुक्त प्रहरी उपरीक्षक ९एसपी० नेत्रमणि गिरीले आफ्नो पदस्थापन कुनै राजनीतिक वा बाह्य प्रभावका कारण नभई नियमित प्रशासनिक प्रक्रिया अनुसार भएको स्पष्ट गरेका छन्।
पत्रकारहरूद्वारा आयोजित एक परिचयात्मक कार्यक्रममा बोल्दै एसपी गिरीले भने, म कसैको सोर्समार्फत फोर्समा आएको हैन। यदि रौतहट आउने नै थिएन भने म महोत्तरी वा सर्लाही पनि जान सक्थेँ।
उनले अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा न्याय सुनिश्चित गर्न आफू पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए। “पीडितलाई अन्याय हुन दिनेछैनौं। निर्दोषलाई दुःख दिने काम नगरेर अपराध नियन्त्रणमा लाग्नेछौं,” उनले भने।
तस्करी, लागुऔषध तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा प्राथमिकता दिइने स्पष्ट पार्दै एसपी गिरीले भने, “तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भए पनि हामी पनि चुप लागेर बस्दैनौं। कानुनअनुसार कारबाही हुनेछ।”
बिचौलिया संस्कृति अन्त्य गर्न पत्रकार, स्थानीय तह र सर्वसाधारणको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले बिचौलियाको पहिचान गरी जानकारी दिन आग्रह गरे।
प्रवेश नियन्त्रणसम्बन्धी भ्रम चिर्दै उनले भने, “विवाह कार्ड लिएर आउनेहरूको सामानमा अवरोध गरिएको छैन। निगरानी तस्करी वा गैरकानुनी कार्यमा संलग्नहरूमाथि मात्र हो।”
जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी पूर्ण रूपले सक्रिय रहेको जानकारी दिँदै गिरीले भने, “हाम्रो मुख्य कार्य शान्ति सुरक्षाको सुनिश्चितता हो। त्यसतर्फ हाम्रो विशेष ध्यान रहनेछ।”
कार्यक्रममा सहभागी डीएसपी दीपक कुमार रायले गौर नगरपालिकाका अधिकांश सिसिटिभी क्यामेरा सञ्चालनमा नरहेको जानकारी दिए। “हाल बीपी चोकको मात्र काम गरिरहेको छ,” उनले भने, “बाकी मर्मतको लागि गौर नगरपालिकासँग समन्वय भइरहेको छ।”
एसपी गिरीले सञ्चारकर्मीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन आग्रह गर्दै प्रेस कन्फ्रेन्सपछि मात्र जानकारी दिनु उपयुक्त नहुने बताए। “पारदर्शिताको वातावरण बनाउन प्रत्यक्ष संवाद आवश्यक छ,” उनले जोड दिए।
कार्यक्रमको अन्त्यमा सञ्चारकर्मीहरूले प्रविधिको अभाव र सिसिटिभीको मर्मत ढिलाइका कारण अपराध नियन्त्रणमा समस्या भएको भन्दै चाँडो समाधानको माग गरे।









