प्रमोद सहनी
मकवानपुर, वैशाख २८। लागूऔषध ट्रामाडोलसहित हेटौंडामा एक युवक पक्राउ परेका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१० स्थित सडक डिभिजन कार्यालयअगाडिको पूर्व–पश्चिम राजमार्ग खण्डमा ट्रामाडोल बोकेको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय विनय लामा हुन्। ना.१३ प २१३६ नम्बरको मोटरसाइकलमा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गर्दा शंका लागि जाँच गर्दा उनको साथबाट लुकाएर ल्याइएको २० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले मोटरसाइकलसहित लागूऔषध बरामद गरी विनय लामालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएको जानकारी दिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।









