प्रमोद सहनी
मकवानपुर, बैशाख २७ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित मास्टर चोक नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जना पैदल यात्री गम्भीर घाइते भएका छन्।
काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नम्बरको सुमो गाडीले बिहान करिब ९:५० बजे बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिका–२१ निवासी ५५ वर्षीय जयबहादुर मोक्तानलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्।
दुर्घटनापछि तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको भए पनि घाइतेको अवस्था गम्भीर रहेकोले बिहान १०:५० बजे उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मोक्तानको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा समेत नरहेको बताइएको छ। हाल उनकी छोरी लक्ष्मी मोक्तान र आफन्त पदम मोक्तान उपचारमा संलग्न छन्।
दुर्घटनामा संलग्न सुमो गाडीका चालक पर्सा जिल्लाको बहादुरमाई नगरपालिका–९ निवासी करिब २४ वर्षीय सन्तु राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुमो गाडीसमेत इलाका प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।









