प्रमोद सहनी
मकवानपुर , वैशाख २७।
बागमती प्रदेशको राजधानी हेटौंडा यही वैशाख २८ र ३० गते ऐतिहासिक युवा सम्मेलनको साक्षी बन्नेछ। प्रदेश युवा परिषद्, बागमतीको आयोजनामा हुन लागेको “प्रदेश युवा सम्मेलन २०८२” मा प्रदेशका १३ वटै जिल्लाबाट छनोट गरिएका ७०३ जना युवाहरूको सहभागिता रहनेछ।
दुईदिने सम्मेलनलाई युवाको सशक्तिकरण, समावेशी नीति निर्माण, नेतृत्व विकास, सीप विस्तार र उद्यमशीलताको साझा बहसको थलो बनाउने लक्ष्य लिइएको छ।
कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार, “यो सम्मेलन केवल युवाको जमघट होइन, प्रदेश सरकारको नीति निर्माण प्रक्रियामा युवाको प्रत्यक्ष संलग्नता सुनिश्चित गर्ने ऐतिहासिक थालनी हो।”
उनले थपे, “नेपालको संविधानले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक जीवनमा समान अवसर प्रदान गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भए पनि व्यवहारमा ती अधिकारहरू अझै कमजोर छन्। यही पृष्ठभूमिमा सम्मेलनले प्रणालीगत हस्तक्षेपको थालनी गर्नेछ।”
सम्मेलन बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको ‘प्रदेश युवा नीति २०७८’ अन्तर्गत प्रदेश युवा परिषद् मार्फत आयोजना गरिएको हो। यस कार्यक्रमलाई ‘युवा सीप वर्ष २०८२’ को औपचारिक उद्घोषसँग पनि जोडिएको छ।
‘युवा सीप वर्ष’ अन्तर्गत तालीम, परामर्श, स्वरोजगार प्रवर्द्धन, नवप्रवर्तन र व्यवसायिक सहकार्यका कार्यक्रमहरू सञ्चालन हुनेछन्। डिजिटल माध्यम, सार्वजनिक-निजी साझेदारी र स्थानीय तहहरूसँग सहकार्यमा कार्यक्रम विस्तार गरिने बताइएको छ।
सम्मेलनमा प्रतिनिधि छनोट गर्दा जिल्लागत, लिङ्गीय, जातीय, भौगोलिक, शारीरिक अवस्था र आर्थिक पृष्ठभूमिका आधारमा विविधता सुनिश्चित गरिएको छ। सहभागीमध्ये महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ भने दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका र तेस्रोलिंगी समुदायका युवाहरूको पनि प्रतिनिधित्व हुनेछ।
सम्मेलनमा देशका सातै प्रदेशका युवाहरूको समेत उपस्थिति रहनेछ। बागमती प्रदेशका ११९ पालिकाबाट एक/एक जनाका दरले सहभागी सिफारिस गरिएको हो भने, अन्य प्रदेशहरूबाट प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा सहभागिता सुनिश्चित गरिने भएको छ।
कार्यक्रममा युवाहरूले आफ्ना नवप्रवर्तन, उद्यम र सामाजिक परियोजना प्रस्तुत गर्ने अवसर पाउनेछन्। साथै, वातावरणविद्, सफल उद्यमी, सामाजिक अभियन्ता, प्राविधिक तथा पेशेवरहरूसँग प्रत्यक्ष अन्तरक्रिया र अनुभव साटासाट हुने सत्रहरू सञ्चालन गरिने छन्।
स्थानीय उत्पादन, डिजिटल उद्यम, सामाजिक न्याय, वातावरणीय दिगोपन, समावेशी नेतृत्व, प्रविधि र ग्रामीण उद्यमशीलता जस्ता शीर्षकमा छुट्टाछुट्टै समूहगत छलफल र प्रस्तुति गरिनेछ।
सम्मेलन सञ्चालनमा पूर्ण डिजिटल प्रविधिको प्रयोग गरिनेछ। मोबाइल एप्स, अनलाइन दर्ता, कागजरहित फाइलिङ, डिजिटल हेल्पडेस्क, क्विक रिस्पोन्स टिम र वेब लाइभ अपडेट प्रणालीमार्फत सहभागी व्यवस्थापन गरिनेछ।

सम्मेलनका सम्पूर्ण सामग्री र दस्तावेजहरू डिजिटल पुस्तकालय मार्फत सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।
३० लाख रुपैयाँको अनुमानित बजेटमा सञ्चालन हुने सम्मेलनको औपचारिक उद्घाटन मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने कार्यक्रम छ। सम्मेलनबाट संकलित सुझाव, सिफारिस, अनुभव र सञ्जाललाई प्रदेश सरकारको नीतिगत दस्तावेजमा समावेश गर्ने कार्यविधि तयार गरिने बताइएको छ।
कार्यकारी उपाध्यक्ष चौलागाईंका अनुसार, “सम्मेलन केवल उत्सव होइन, यो कार्यान्वयन योग्य प्रतिबद्धता हो। सबै मन्त्रालय, स्थानीय तह र निजी क्षेत्रको सहकार्य आवश्यक छ।”
सम्मेलनमा संघीय सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, मन्त्रालयका पदाधिकारी, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, निजी क्षेत्रका व्यवसायी, युवा अभियन्ता र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहनेछ।









