प्रमोद सहनी
वैशाख २५ मकवानपुर । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीवार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। टाइब्रेकरमा एपीएफका गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरे। रश्मि घिसिङको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले रोकेकी थिइन्। पुलिसका लागि भने एक मात्र गोल उषा नाथले गरिन्। कप्तान निरु थापा, रेविका पाण्डे र सुस्मा तामाङको प्रहार क्रमशः एपीएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन्, पोस्टमा ठोक्कियो, र बाहिरियो।
उत्कृष्ट प्रदर्शनका लागि एपीएफकी अञ्जना राना मगर ‘म्यान अफ द म्याच’ घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगिताको विजेता एपीएफले ७ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले ५ लाख रुपैयाँ हात पार्यो। सर्वोत्कृष्ट खेलाडीको उपाधि एपीएफकी रश्मि घिसिङलाई प्रदान गरियो, जसअनुसार उनले एक थान स्कुटर जितिन्। अन्य व्यक्तिगत विधामा पनि एपीएफको दबदबा देखियो— उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए। नेपाल पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र समीक्षा घिमिरे उत्कृष्ट डिफेन्डर घोषित भइन्। विधागत रुपमा पुरस्कृत सबै खेलाडीले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।









