प्रमोद सहनी
मकवानपुर, वैशाख २५। नेपाली रुपैयाँ ५०० दरका १८६ थान नक्कली नोटसहित एक जना व्यक्ति मकवानपुरबाट पक्राउ परेका छन्।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले मिति २०८२ वैशाख २५ गते राति करिब १:१० बजे हेटौंडा उपमहानगरपालिका–१५ स्थित पूर्व–पश्चिम लोकमार्गमा बर्दिबासबाट हेटौंडातर्फ जाँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्ने व्यक्ति धादिङ गंगाजमुना गाउँपालिका–२ घर भई हाल हेटौंडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन्। उनलाई शंका लागि तलासी गर्दा बोकेको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान जम्मा ९३ हजार रुपैयाँ बराबर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद गरिएको नक्कली नोटसहित अधिकारीलाई मुद्रा सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









