प्रमोद सहनी
वैशाख २५ मकवानपुर । कैलाश गाउँपालिकाले अपाङ्गता भएका १८ घरपरिवारलाई जिविकोपार्जनको अवसर प्रदान गर्न माउ बाख्रा वितरण गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितिमा सम्पन्न भयो।
शाखा प्रमुख रमिला सापकोटाका अनुसार वौद्धिक, मानसिक, शारीरिक तथा बहु अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिहरूलाई बाख्रा वितरण गरिएको हो। “यस कार्यक्रमले उनीहरूको आत्मनिर्भरता र आयआर्जनमा सहयोग पुर्याउने विश्वास लिएको छ,” सापकोटाले भनिन्।
उक्त कार्यक्रम सामाजिक विकास मन्त्रालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र सुन्दर ढोका साथी सेवा संस्थाको २० प्रतिशत साझेदारीमा सञ्चालित भएको हो।
परियोजना संयोजक राम कार्कीका अनुसार यसै कार्यक्रम अन्तर्गत २ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने २ जनाले टनेल निर्माण गरेका छन्। एक जनाले किराना पसल सञ्चालन गरेका छन्।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नं ३ का कार्यवाहक अध्यक्ष राममाया प्रजा, महिला शाखा प्रमुख रमिला सापकोटा लगायतको सहभागिता रहेको थियो।









