प्रमोद सहनी
मकवानपुर, वैशाख २४ । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारबाट हराएको एक ट्रक प्रहरीले जंगलबाट फेला पारेको छ। बुधबार बिहान करिब ८ बजे सोही स्थानका २६ वर्षीय ट्रक चालक सोम बहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखिएको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दिएका थिए।
निवेदन प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो २ बजे मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्व–पश्चिम राजमार्ग नजिकको जङ्गल क्षेत्रमा ट्रक फेला पारेको हो। ट्रक कसले चलाएर उक्त स्थानमा लगेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको र यस सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। फेला परेको ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएर ट्रकधनी बाराको सिमरा उपमहानगरपालिका–९ निवासी सुरज देवकोटालाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।









