प्रमोद सहनी
मकवानपुर, वैशाख २४ । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडक खण्डमा आज बिहान भएको जीप दुर्घटनामा ९ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलेरो जिप बिहान करिब ८:१५ बजे सडकबाट झन्डै ५० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाइएको छ। घटनामा गम्भीर घाइते हुनेहरूमा १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल बहादुर घलान, उनकी श्रीमती अन्दाजी ६५/७० वर्षीया फुलमाया घलान, ३८ वर्षीय रुप बहादुर राउत र ४८ वर्षीय दीपक खड्का रहेका छन्। उनीहरू सबैको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। त्यस्तै, ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङको अवस्था मध्यम रहेको छ भने २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन्। सुजनलाई प्रहरीले साथ लिएर अस्पताल पुर्याएको जनाइएको छ। दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको भए पनि सुरक्षाकर्मीहरूद्वारा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।









