शैलेश गुप्ता, २३ बैशाख, पोखरिया
पोखरिया नगरपालिकामा रहेका २६ वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापकहरूसँग विशेष बैठक तथा छलफल सम्पन्न भएको छ।
पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्च माध्यमिक विद्यालय रामदेव कलवार माविमा सम्पन्न उक्त बैठकमा हालैको शिक्षक आन्दोलनका कारण कक्षा छुटेका विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट गर्ने र शैक्षिक सत्र २०८२ मा व्यापक विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।
बैठकमा घर-घर पुगेर विद्यालय बाहिर रहेका बालबालिका तथा विद्यालय छोडेका किशोर-किशोरीहरूलाई विद्यालय भर्ना गराउने, नियमित कक्षा सञ्चालन गर्ने, शिक्षकहरूलाई समयमा विद्यालय आउन र विद्यालय समयभर उपस्थित रहन प्रेरित गर्ने कुरामा जोड दिइएको थियो।
त्यस्तै विद्यालयहरूमा भौतिक संरचना सुधार, जस्तै टेबल, कुर्सी, डेस्क, बेञ्च, पंखा, शौचालयको सरसफाइ, साथै शिक्षक अभावका कारण बन्द रहेका ICT कक्षाको पुनः सञ्चालन बारे पनि महत्वपूर्ण छलफल भएको पोखरिया नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत रामविनय कुमार सिंहले जानकारी दिए।









