रातो न्युज सम्वादाता
धनकुटा, बैशाख २३ ।
धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–१३ निवासी ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
यसअघि सोमबार बेलुका बस चालक, धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि उपचारका क्रममा मृत्यु भएको थियो। त्यसैगरी, सोमबार नै धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भूजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उक्त दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण बस अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीको अनुमान छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।









