रातो न्युज सम्वादाता
सुर्खेत, वैशाख २३।
नेपाली समाजमा वैवाहिक सम्बन्धलाई जीवनको आधार मानिन्छ, तर जब सम्बन्धमा प्रेमभन्दा बढी शंका, संवादभन्दा बढी आरोप र सहमतिभन्दा बढी हिंसा हावी हुन्छ, त्यसको परिणति एक भयावह दुर्घटनामा बदलिन सक्छ। सुर्खेतमा घटेको हालैको एक घटना यसको ज्वलन्त उदाहरण बनेको छ जहाँ नेपाली सेनाका एक जवानले आफ्नै श्रीमतीको हत्या गरे।
गुर्भाकोट नगरपालिका–५ घर भई हाल काभ्रेको वीरदल गणमा कार्यरत २९ वर्षीय सैनिक जवान दर्शन खत्रीले आफ्नी २६ वर्षीया श्रीमती प्रेमा वलीको हत्या गरेका हुन्।
दुवैको ७ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरूको वैवाहिक जीवन सुरुमा सुखद थियो। दुई वर्षपछि छोरी जन्मिइन्। त्यसपछि खत्री नेपाली सेनामा भर्ती भए र नियमित रूपमा बाहिर बस्न थाले। यद्यपि, दूरीसँगै उनीहरूको सम्बन्धमा चिसोपन बढ्दै गयो।
दर्शन खत्रीको अन्य महिलासँगको बढ्दो सम्बन्धका बारेमा प्रेमालाई शंका हुन थाल्यो। यो विषय माईती पक्षसम्म पुग्दा विवाद झनै बढ्न थाल्यो। आफन्त र छिमेकीहरूका अनुसार प्रेमाले पटकपटक श्रीमानसँगको सम्बन्ध सुधार्ने प्रयास गरिन्। तर, सम्बन्धमा विश्वासको पुल बिस्तारै ढल्न थाल्यो।
प्रेमाले पनि मोबाइलमा अन्य पुरुषका फोटो राखेको देखेपछि दर्शन खत्री झनै आक्रोशित भए। एकअर्कामाथिको गहिरो शंका, आरोप र आक्रोशले उनीहरूलाई संवादभन्दा झगडातर्फ धकेलिरह्यो। पाँच वर्षदेखि चलिरहेको आपसी झगडाले अन्ततः हिंसात्मक रूप लियो।
प्रहरीका अनुसार खत्रीले योजनाबद्ध रूपमा श्रीमतीलाई भेट्न बोलाए। उनी शनिबार बिदा लिएर काभ्रेबाट सुर्खेतको छिन्चु बजारमा पुगे। उनले प्रेमालाई फोन गरेर छिन्चु आउन भने। प्रेमाले छोरीलाई माइतीघरमै छोडेर गएको बताइएको छ। उनले भनिन्, “श्रीमानको सामान आएको छ, लिन जान्छु।”
छिन्चु बजारमा भेट भएपछि सुरुमा सामान्य संवाद भयो। तर केही समयमै झगडा चर्कियो। उनीहरू झगडा गर्दै जंगलको बीचमा पर्ने झिंगेनारा खोलातिर पुगे। प्रहरी अनुसन्धानअनुसार उनीहरूले एकअर्काको मोबाइल चेक गर्न थालेका थिए। यही क्रममा झगडा चरम सीमामा पुग्यो।
खत्रीले ढुंगाले प्रेमा वलीको टाउकोमा प्रहार गरे। तीव्र चोटका कारण उनी ढलिन्। त्यसपछि उनले साथमै रहेको सलले घाँटी कसी हत्या गरे।
घटनापछि खत्री राति ८ बजे घर फर्किए। शव भने खोलानजिकै फालिएको थियो। स्थानीयहरूले आइतबार बिहान करिब १० बजे थाकल टिप्न गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरे। सुरुमा शवको पहिचान हुन सकेन। साँझपख मात्र आफन्तले शव पहिचान गरेका थिए।
प्रहरीले दर्शनलाई आइतबार नै नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले अपराध अस्वीकार गरे। तर बारम्बार विरोधाभासी बयान दिन थालेपछि प्रहरीले थप अनुसन्धान गर्यो। डीएसपी मोहनजंग बुढथापाका अनुसार मानसिक रूपमा हतोत्साहित देखिएका खत्रीले अन्ततः श्रीमतीको हत्या आफैंले गरेको स्वीकार गरे।
प्रहरीले दर्शनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। प्रेमाको मृत्यु र दर्शन प्रहरी हिरासतमा पुगेपछि ५ वर्षीया छोरीको विचल्ली भएको स्थानीयले वताएका छन्।
यस घटनाले केवल एउटी महिलाको ज्यान लिएको छैन, एक बच्चीको जीवन नै अन्योलमा पारेको छ। पाँच वर्षीया छोरी अहिले आमाबिना भएकी छन् भने बाबु प्रहरी हिरासतमा छन्। एउटै झगडाले केवल दुई व्यक्तिको जीवन मात्र होइन, तीन पुस्ताको भविष्यमा आँधी ल्याएको छ।
यो घटना नेपाली समाजमा बढ्दो घरेलु हिंसा, मानसिक स्वास्थ्य समस्या र असमझदारीको गम्भीर सन्देश हो। जब संवादको विकल्प झगडा, शंकाको विकल्प हिंसा र प्रेमको विकल्प बदला बन्न थाल्छ, त्यहाँ परिवार मात्र होइन, समाज नै अस्थिर हुन्छ।









