धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, बैशाख २२ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका–६ सानो बुटहनियास्थित उखुबारीमा दुई वटा नीलगाई मारेको आरोपमा एक जना सिकारी पक्राउ परेका छन्। आइतबार मध्यराततिर गोली पड्किएको आवाज सुनेका स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि, खोजी गर्दै गएको प्रहरीले शिवराज नगरपालिका–२ हरौहवाका ५२ वर्षीय फरहान खाँलाई गोलीसहित पक्राउ गरेको हो।
खाँसँग प्रहरीले ६ राउन्ड गोली, ४ वटा खोका, चक्कुलगायत सिकारमा प्रयोग हुने सामाग्री फेला पारेको जनाएको छ। सरकारले नीलगाईलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। पक्राउ परेका खाँसहितको समूहले बा.१७ च ८९० नम्बरको हाइलक्स, यूपी ५५ आर ६१७६ नम्बरको भारतीय पिकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल र अर्को भारतीय मोटरसाइकल प्रयोग गरेर सिकार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले मरेका दुई भाले नीलगाई, सिकारमा प्रयोग गरिएका सवारीसाधन, गोली र अन्य सामाग्रीहरू गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइसकेको छ। घटनाको थप अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरको नेतृत्वमा भइरहेको छ।









