प्रमोद सहनी
मकवानपुर वैशाख २१। रौतहटको आशा टाइब्रेकरमा टुट्यो। मैदानमा ९० मिनेटसम्म बराबरी खेले पनि अन्तिम निर्णय भने चार पेनाल्टी प्रहारमा भयो। यसै रोमाञ्चक मोडमा नेपाल पुलिस क्लबले महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा सुनिश्चित गर्यो।
आइतबार हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा उपस्थित दर्शकहरू ऐतिहासिक खेलका साक्षी बने। निर्धारित समयसम्म दुवै टोलीले आक्रमण र बचाउको खेल प्रदर्शन गरे। मैदानको एकछिन पुलिसको नियन्त्रणमा भयो भने अर्कोछिन रौतहटले दबाब बनायो। तर, दुवै टोलीका फारवार्डहरूको प्रयास निर्णायक नबन्दा स्कोरबोर्ड गोलरहित रह्यो।
निर्णायक क्षणमा पुलिसका लागि नायक बनिन्—गोलकिपर उषा नाथ। टाइब्रेकरमा रौतहटका मनिषा श्रेष्ठ र अञ्जली चन्दका प्रहारहरू उनले जादुको झैं सेभ गरिन्। उषाले मात्र गोल रोकिनन्, आफैंले पनि पेनाल्टीमार्फत गोल गरिन्। उनका सेभले खेलको मुड नै परिवर्तन गर्यो। उनको यो प्रदर्शनका लागि उनी ‘म्यान अफ द म्याच’ घोषित भइन् र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गरिन्। खेलपछिको अन्तर्वार्तामा उनले भनिन्, “हामी टोलीको एकताको कारण जित्न सक्यौं। मलाई मेरो जिम्मेवारी थाहा थियो।”
रौतहटको टोलीले पनि साहसी प्रदर्शन गर्यो। पेनाल्टीमार्फत सविना चौधरी र सलोनी रानाले गोल गरे। तर, टोलीकी गिम कुमारी गुरुङको प्रहार बाहिरिएपछि रौतहटको मनोबल खस्कियो। निर्णायक दुई प्रहारमा चुक्दा उनीहरूको प्रतियोगिताको यात्रा त्यहीं टुंगियो।
यो जितसँगै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली बन्यो। अब उसले चितवनसँग प्रतिस्पर्धा गर्नेछ। चितवनले यसअघि आयोजक मकवानपुरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको अर्को सेमिफाइनल स्थानको टुङ्गो सोमबार लाग्नेछ, जहाँ एपीएफ क्लब र वीरगञ्ज युथ एकेडेमीबीच भिडन्त हुनेछ।
महिला राष्ट्रिय गोल्डकप प्रतियोगिता मकवानपुर जिल्लाको फुटबल इतिहासकै महत्त्वपूर्ण आयोजनामध्ये एक हो। फाइनल खेल बुधबार हुनेछ। प्रतियोगिताको विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजक मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगितामा देशका उत्कृष्ट महिला फुटबल टोलिहरूलाई प्रतिस्पर्धामा उतार्दै महिला फुटबलको स्तर उकास्न खोजेको छ।
यो प्रतियोगिता महिला खेलाडीहरूका लागि केवल फुटबल मात्र होइन, आत्मविश्वास, क्षमता र पहिचानको मञ्च बनेको छ। हेटौंडाको रंगशालामा देखिएको उत्साहले नेपाली महिला फुटबलको भविष्य उज्यालो हुँदै गएको सन्देश दिन्छ।









