प्रमोद सहनी
रौतहट, वैशाख २१ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान भएको एक भीषण सवारी दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। चन्द्रनिगाहपुर बजार नजिकै बिहान सवा ६ बजे तीव्र गतिमा आइरहेको कारले मोटरसाइकललाई ठक्कर दिँदा गरुडा नगरपालिका–२, गेडाही गुठी निवासी ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो। प्रहरीका अनुसार ना ३ प ९५१२ नम्बरको मोटरसाइकलमा सवार सहनी दुवै जना चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै थिए। सोही क्रममा हेटौंडाबाट तीव्र गतिमा आइरहेको बा ६ च ३५२६ नम्बरको कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दियो।
ठक्कर यति शक्तिशाली थियो कि मोटरसाइकल करिब १५ मिटर पर घिस्रिएर रोकिएको थियो। प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि घटनास्थल अत्यन्त भयावह देखिन्थ्यो — रगतले सडक रङिएको थियो र दुबै सवार अचेत अवस्थामा फालिएका थिए। घटनामा बलिराम सहनीको दाहिने खुट्टा चुँडिएको थियो भने ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर लगिए पनि चिकित्सकले केही समयमै मृत घोषणा गरे। उनकी छोरी उर्मिला देवीको दाहिने हात भाँचिएको थियो र ढाड गम्भीर घाइते भएको थियो। प्रारम्भिक उपचारपछि उनलाई तुरुन्तै बारा स्थित एलएस न्युरो अस्पताल लगिएको थियो तर बिहान ९ बजे उपचारकै क्रममा उनको पनि मृत्यु भयो। प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार दुर्घटना गराउने कार र चालक हेटौंडा उपमहानगरपालिका–१२ निवासी ४३ वर्षीय कुमार पोखरेललाई तत्काल नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा चालक तीव्र गति र सम्भावित लापरवाहीमा रहेको देखिएको छ। उनको विरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
घटनाले गेडाही गुठी गाउँमा शोकको वातावरण छाएको छ। मृतक बलिराम सहनी स्थानीयस्तरमा राजनीतिक र सामाजिक रूपमा सक्रिय व्यक्ति थिए भने छोरी उर्मिला देवी विवाहपछि माइती घर आएकी थिइन्। सहनी परिवारमा परेको यस अकस्मात् घटना रौतहटबासीका लागि पीडादायक बनेको छ। एकैपटक दुई सदस्य गुमाउँदा पीडित परिवार भावनात्मक र आर्थिक संकटमा परेको छ। स्थानीय बासिन्दाहरू शोकमा डुबेका छन्। गाउँलेहरूका अनुसार सहनी घरको मुख्य आधार थिए। स्थानीय बासिन्दाले दुर्घटनापछि केही समय सवारी आवागमन अवरुद्ध गरी चालकको कडा कारबाहीको माग गरेका थिए। उनीहरूले राजमार्गमा सवारी सर्तकता र निगरानी अभावले यस्ता घटना दोहोरिएको गुनासोसमेत गरेका छन्। प्रहरीले दुर्घटनाको विस्तृत अनुसन्धानका लागि ट्राफिक इन्जिनियरिङ टोली र सिसिटिभी फुटेज समेत संकलन गरिरहेको जनाएको छ।









