प्रमोद सहनी
मकवानपुर, वैशाख २० । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा एक सवारी साधन पानीले भरिएको खाल्डोमा डुबेको छ। सो घटना शुक्रवार १९ गते दिउँसो करिब १२:५० बजे घटेको हो। घटनामा कुनै मानवीय क्षति नभए पनि सवारी साधन अझै हराइरहेको छ र खोजी कार्य जटिल बन्दै गएको छ। घटनाको विवरण अनुसार, ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बलेरो गाडी (माछा बोक्ने सवारी, तर घटनाको बेला खाली अवस्थामा रहेको) गैरीगाउँबाट चुच्चेखोलातर्फ जाँदै गर्दा अचानक अनियन्त्रित भई बाटो नजिकको खाल्डोमा डुबेको हो। सो खाल्डो त्यहाँका स्थानीय बासिन्दा हरि राईले आफ्नै प्रयोजनका लागि बोरिङको पानी जम्मा गर्न बनाएको बताइएको छ। गाडीका चालक हरि राई स्वयम् नै रहेको गाडीमा सवारी साधन डुबे पनि उनी सकुशल रहेका छन्।
उनी घटनापछि तुरुन्तै बाहिर निस्किन सफल भएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, गाडी अचानक सडकबाट चिप्लिएर खाल्डोतर्फ खस्यो, पानीले भरिएको हुँदा गाडी तत्कालै हरायो। घटनास्थलमा तत्कालै उद्धार प्रयास थालिएको छ। दुई वटा मोटर पम्पको सहायतामा खाल्डोमा भरिएको पानी निकाल्ने प्रयास भइरहेको छ। तर, पानीको सतह केही घटे पनि गाडीको कुनै अंश अझैसम्म देखिएको छैन। त्यसमाथि खाल्डोको दायाँबायाँको माटो झरिरहेकाले खाल्डोको आकार थप फैलिरहेको छ। यसले गर्दा खोजी कार्य अझ जटिल र जोखिमपूर्ण बनेको छ। स्थानीय प्रशासन र प्रहरीको टोलीले खोजी कार्यमा खटिएको छ। यद्यपि, उपकरणको अभाव, खाल्डोको अस्थिरता, र लगातार झर्ने माटोले गर्दा खोजी कार्यमा ढिलाइ भइरहेको जनाइएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, बोरिङको लागि खाल्डो खनिँदा कुनै सुरक्षात्मक उपाय अपनाइएको थिएन। “सडक छेउमै यति ठूलो खाल्डो बनाइयो, तर वरिपरि कुनै चेतावनी चिन्ह, बार, वा ढाकिएको अवस्था थिएन,” एक स्थानीय बासिन्दाले गुनासो गरे। यस किसिमको लापरवाहीले यस्तो दुर्घटना निम्त्याएको उनीहरूको आरोप छ।
संबन्धित वडाका प्रतिनिधिहरू, प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा पुगेर निरीक्षण गरिसकेका छन्। खोजी कार्यलाई सक्दो छिटो टुंग्याउने प्रयास भइरहेको उनीहरूले बताएका छन्। त्यस्तै, बिनायोजना खाल्डो खन्दा देखिएको जोखिमप्रति पनि प्रशासनले चासो व्यक्त गर्दै आवश्यक अनुसन्धान र कारबाहीको संकेत दिएको छ। सडक छेउको असुरक्षित खाल्डो, सावधानीको अभाव, र अस्थायी संरचनाहरूले कहिलेकाहीँ सवारी दुर्घटनाको रूप लिन्छन् भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ। यद्यपि चालकको ज्यान जोगिनु राहतको कुरा हो, सवारी साधनको खोजी अझै जारी रहँदा घटनाले स्थानीयस्तरमै सुरक्षा र पूर्वयोजना सम्बन्धी प्रश्न उठाएको छ।









