प्रमोद सहनी
मकवानपुर, वैशाख २० । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भए पनि जनताको जीवनस्तरमा भने खासै परिवर्तन नआएको टिप्पणी गरेकी छन्। उनले सामाजिक न्याय र समावेशी विकासको मार्गमा राज्य गम्भीरताका साथ नलागेसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा राखिन्। शनिबार हेटौंडामा आयोजित मदन भण्डारी फाउण्डेसन मकवानपुरको चौथो साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले भनिन्, “राजनीतिक परिवर्तन भयो, गणतन्त्र आयो, तर जनताले भोगेको दुःख, गरिबी, बेरोजगारी, शिक्षाको अभाव, स्वास्थ्य सेवाको पहुँचमा आएको सुधारको अनुभव गर्न सकेका छैनन्।
परिवर्तनको सार जनताको जीवनमा अनुभूत नहुन्जेल त्यो अपूर्ण नै रहन्छ।” उनले जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन राज्य र सम्पूर्ण राजनीतिक दलहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिइन्। “सामाजिक परिवर्तनबिना आर्थिक समृद्धि सम्भव छैन,” उनले थप भनिन्। भण्डारीले नेकपा (एमाले)का जननेता मदन भण्डारीको राजनीतिक दृष्टिकोण अझै पनि नेपालको वर्तमान सन्दर्भमा उत्तिकै सान्दर्भिक रहेको बताइन्। “जनताको बहुदलीय जनवादको मार्गचित्रलाई पछ्याउँदै देश विकासको बाटोमा अघि बढ्नुपर्छ,” भण्डारीको भनाइ थियो। उनले मदन भण्डारीको विचार र मार्गदर्शनअनुसार नै फाउण्डेसनका गतिविधिहरू अगाडि बढिरहेको उल्लेख गरिन्।
कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता केदार न्यौपाने, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतले मन्तव्य व्यक्त गरे। उनीहरूले मदन भण्डारीको योगदानलाई स्मरण गर्दै वर्तमान राजनीतिमा उनका विचारहरू अझ सशक्तरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। कार्यक्रम मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाभरिबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूर्व राष्ट्रपति भण्डारीको भनाइले फेरि एकपटक वर्तमान राजनीतिक प्रणालीप्रति आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको देखिन्छ। जननेताको हैसियतले उनले नेतृत्व पंक्तिमा रहेका व्यक्तिहरूलाई जनताका समस्या बुझ्न र समाधानतर्फ अग्रसर हुन आग्रह गरेकी छन्।









