प्रमोद सहनी
मकवानपुर, वैशाख २० । हेटौंडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा संकटाले एकतर्फी प्रदर्शन गर्दै नवजनजागृती युवा क्लब, सिमरामाथि ६–१ को फराकिलो जित निकालेको छ। शनिबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न खेलमा संकटाको जितको नायिका ममता पुन मगर बनिन्, जसले व्यक्तिगत रूपमा पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। खेलको सुरुदेखि नै आक्रामक शैलीमा प्रस्तुत भएको संकटाले नवौं मिनेटमा ममता पुनको गोलमार्फत अग्रता लिएको थियो।
उनले २१ औं र ३५ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्। दोस्रो हाफमा पनि उनले आफ्नो दबदबा कायम राख्दै ७२ औं र ८४ औं मिनेटमा दुई गोल थपिन्। यससँगै ममता पुन मगर प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्न सफल भइन्। संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले पहिलो हाफको १३ औं मिनेटमा गरेकी थिइन्। सिमराका रोजिना लामाले ७९ औं मिनेटमा सान्त्वना गोल गरे पनि त्यो हार टार्न पर्याप्त हुन सकेन।
उत्कृष्ट प्रदर्शनको आधारमा संकटाकी ममता पुन मगरलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरियो। उनले पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। ममताको नेतृत्वमा संकटाले पूर्ण नियन्त्रणसहित खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। संकटा अब फाइनल प्रवेशका लागि नेपाल प्रहरीको सशस्त्र प्रहरी बल (एपीएफ) र वीरगञ्ज युथ स्पोर्ट्स क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एपीएफ र वीरगञ्जबीचको खेल आइतबार सम्पन्न हुने तय भएको छ। प्रतियोगिताको फाइनल खेल यही बुधबार हुनेछ। फाइनल विजेता टिमले पाँच लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ नगदसहित अन्य पुरस्कारहरू प्राप्त गर्नेछ। मकवानपुर महिला गोल्डकपलाई नेपालको महिला फुटबल विकासको एउटा महत्वपूर्ण प्लेटफर्मका रूपमा लिइँदै आएको छ। आयोजकहरूले भविष्यमा अझ भव्य र प्रतिस्पर्धात्मक बनाउने योजना समेत अघि सारेका छन्। संकटाको प्रभावशाली जितले प्रतियोगिताको स्तर र प्रतिस्पर्धात्मकता अझ आकर्षक बनाएको छ।









