प्रमोद सहनी
मकवानपुर, बैशाख १९। हेटौंडामा सुरु भएको पहिलो महिला गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनमै विवादित बनेको छ। उद्घाटन खेलमै आयोजक मकवानपुर जिल्ला फुटबल संघ चितवनसँग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएपछि मात्र होइन, बत्तीको अभावमा सम्पन्न भएको पेनाल्टीले प्रतियोगिताको निष्पक्षता र व्यवस्थापन क्षमतामै गम्भीर प्रश्न उठाएको छ। चितवनले खेलको ३१औं मिनेटमा जर्सी नम्बर १० की अनिता गुरुङको गोलमार्फत अग्रता बनाएको थियो। तर, निर्धारित ६० मिनेटको समय पूरा हुनुअघि थपिएको ईन्जुरी समयको अन्तिममा मकवानपुरकी कप्तान सजिना स्याङतानले बराबरी गोल फर्काइन्। खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् तय गरिएको थियो।
महत्वपूर्ण निर्णय बत्ती नहुँदा अध्यारो मैदानमा गर्नुपरेको थियो। एक खेलाडीले गुनासो गर्दै भनिन्, “हामी पोस्ट देख्नै सकिरहेका थिएनौं। यस्तो अँध्यारोमा कसरी पेनाल्टी खेलिन्छ?” दर्शकदीर्घाबाट पनि “बत्ती छैन, खेल रोक” भन्ने नारा घन्किएको थियो। खेलप्रेमीहरू सामाजिक सञ्जालमा आयोजकमाथि तीव्र आलोचना गरिरहेका छन्। स्थानीय फुटबल विश्लेषकहरूका अनुसार, साँझपख हुने खेलमा बत्तीको प्रबन्ध गर्नु आयोजकको आधारभूत दायित्व हो। यस्तो लापरवाहीले प्रतियोगिता सस्तो शोमा सीमित हुने खतरा बढाएको छ। अखिल नेपाल फुटबल संघ (ANFA) ले यसमा ध्यान दिनुपर्ने आवाजहरू उठिरहेका छन्।
पेनाल्टीमा संयमित प्रदर्शन गर्दै चितवनले ५–४ को जित दर्ता गर्यो। चितवनकी अनिता गुरुङ खेलकी उत्कृष्ट खेलाडी घोषित अनिता ‘म्यान अफ द म्याच भइन् । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ। तर उद्घाटनमै यस्तो प्राविधिक कमजोरी देखिनुले सम्पूर्ण प्रतियोगिताको व्यवस्थापनमाथि गम्भीर शंका उत्पन्न गराएको छ। आगामी खेलहरूमा यस्ता समस्या दोहोरिए, आयोजकमाथि थप आलोचना हुनु निश्चित छ। तर पहिलो खेलमै यस्तो गम्भीर त्रुटि देखिनुले सम्पूर्ण प्रतियोगितामै व्यवस्थापन असफल हुने संकेत देखिएको छ। सामाजिक सञ्जालमा मानिसहरूले प्रश्न गरेका छन्। “सस्तो प्रचारको लागि आयोजना गरिएको हो, कि साँच्चिकै महिला फुटबल प्रवर्द्धनको लागि? आगामी खेलहरूमा यस्ता प्राविधिक त्रुटिहरू दोहोरिन्छन् भने, आयोजक संस्था मात्र होइन, सम्पूर्ण महिला फुटबलकै प्रतिष्ठा प्रभावित हुन सक्छ। यस्तो अवस्थामा जिम्मेवार संस्थाहरूको मौनता झनै खतरनाक सावित हुन सक्छ।









