प्रमोद सहनी
मकवानपुर ,बैशाख १७ | मकवानपुरको भिमफेदी गाउँपालिका–९, अघोरमा एक परिवारभित्रको सामान्य देखिने झगडाले हिंसात्मक रूप लिँदै जब एक छोराले आफ्नै बुबामाथि भरुवा बन्दुक प्रहार गरे, गाउँ स्तब्ध भयो। कुखुरा आफ्नो आँगन तर्फ आएको झिनो विषयमा भएको भनिएको विवाद यसरी गहिरिएला भनेर कसैले सोचेका थिएनन्।
घटना आज बिहान करिब ८ बजे घटेको हो। ५९ वर्षीय कान्छाराम थिङ आफ्नै छोरा, ३५ वर्षीय ईमानसिंह थिङको भरुवा बन्दुकको छर्राबाट घाइते भएका छन्। बाबु र छोरा छुट्टाछुट्टै घरमा बस्ने भए पनि आँगन एउटै रहेको र त्यसैका कारण दैनिक जीवनमा सामान्य खाले विवाद भइरहने गरेको छिमेकीहरूले बताएका छन्। घटनाको जानकारी बिहान करिब ११:५५ बजे इलाका प्रहरी कार्यालय भिमफेदीमा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी निरीक्षक सन्त बहादुर श्रेष्ठको कमाण्डमा खटिएको टोलीले ईमानसिंहलाई एकनाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। उक्त बन्दुक गैरकानुनी (बिनालाईसेन्स) भएको खुलेको छ। घटनामा घाइते कान्छाराम थिङको बायाँ खुट्टाको तिख्रामा र दायाँ हातमा छर्राले चोट लागेको छ। घाइतेको अवस्था सामान्य रहेको र उनलाई थप उपचारका लागि हेटौंडा अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कुखुरा बाबुको आँगन तर्फ गएको विषयमा भएको भनाभन केही मिनेटमै तिक्त बहसमा परिणत भएको थियो। त्यसक्रममा ईमानसिंहले घरमै रहेको भरुवा बन्दुक झिकेर बाबुमाथि प्रहार गरेका थिए। गाउँलेहरूका अनुसार, बाबु र छोराबीचको सम्बन्ध पहिले पनि सौहार्दपूर्ण थिएन। “एकै घरका भए पनि बोलचाल कमै थियो। कहिलेकाहीं जम्काभेट हुँदा कुरा झगडामा जान्थ्यो,” एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताए। घटना बाहिरिएसँगै गाउँमा त्रासको वातावरण बनेको छ। भरुवा बन्दुकजस्तो खतरनाक हतियार अवैध रूपमा घरमै राखेर प्रयोग गरिएको तथ्यले स्थानीय सुरक्षा संयन्त्रप्रति पनि प्रश्न उठाएको छ। इलाका प्रहरी कार्यालय भिमफेदीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। “हामीले प्रारम्भिक विवरण संकलन गरेका छौं। घटनाको प्रकृति हेर्दा यो परिवारभित्रको दीर्घकालीन तनावको परिणामजस्तो देखिन्छ। कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अघि बढाइनेछ,” प्रहरी निरीक्षक श्रेष्ठले बताए। ईमानसिंह थिङमाथि हाल ‘हतियार राख्ने’, ‘हतियार प्रयोग गरी ज्यानमाथि हमला गर्ने’ लगायतका अभियोगमा अनुसन्धान भइरहेको छ। प्रहरीले बन्दुक कहाँबाट प्राप्त गरियो, कसरी राखिएको थियो भन्नेबारे थप विवरण संकलन गरिरहेको छ।









