अजय कुमार मिश्रा
कृष्णनगर, बैशाख १६ । कपिलवस्तु जिल्लाको कृष्णनगर क्षेत्रमा अत्याधुनिक निगरानी प्रविधिको प्रयोग सुरु गरिएको छ। जिल्ला कै पहिलोपटक गाडीको नम्बर प्लेटसमेत स्क्यान गर्न सक्ने अत्याधुनिक सिसिटिभी (ANPR) क्यामेरा जडान भएसँगै सुरक्षा व्यवस्था थप कडाइ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
कृष्णनगर बजार क्षेत्र, बहादुरगंज हुलाकी बाटोको गौरव शाह चौक, भन्सार, बसपार्क, गोलघर लगायतका प्रमुख स्थानमा हालसम्म २४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। साथै, सिमा क्षेत्रका सुरक्षालाई मध्यनजर गर्दै कृष्णनगर–चन्द्रौटा सडकखण्डमा २ थान ANPR (Automatic Number Plate Recognition) क्यामेरा र त्यसका सहायक थप २ थान क्यामेरा जडान गरिएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो।

यी क्यामेराहरुले सवारी साधनको प्रकार, रंग, गति जाँच गर्न सक्ने क्षमता राख्छन्। जसले दुर्घटनापछि फरार भएका गाडी तथा अवैधानिक क्रियाकलापमा संलग्न सवारी साधन पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सिसिटिभी जडान कार्य इलाका प्रहरी कार्यालय कृष्णनगरको पहलमा र कृष्णनगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो। प्रविधिको प्रयोगमार्फत नगर क्षेत्रलाई सुरक्षित र शान्त बनाउने लक्ष्यसहित सुरक्षाको नयाँ ढोका खुलेको स्थानीय प्रशासनको भनाइ छ।









