शैलेश गुप्ता, ०९ बैशाख, पोखरिया
पर्सा जिल्ला, धोविनी गाउँपालिका–२, भिखमपुरमा रहेको गण्डक नहरको छेउमा नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्जको स्वामित्वको सरकारी जमिन अतिक्रमण गरी अवैधरूपमा किसुनदेव साह सोनार र लालमती देवी सोनारीनले बनाएको टहरा सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुरको कमाण्डर डिएसपी रमेश कुमार गुरुङको टोलीले हटाएको आरोप लालमती देवीले लगाएकी छन्।
उक्त टहरामा उनीहरूले चिया तथा मासु पसल सञ्चालन गर्दै आएका थिए। टहरा भित्र रहेको बियरको बोतल, चाउचाउ, ग्यास सिलिन्डर, अण्डाको कार्टुन र कैरेट, सुत्ने खाट, टेबल, कुर्सी, भाँडा-बर्तन लगायतका सामानहरू तितर-बितर पारिएको र ती सामानहरू प्रहरी टोलीले उठाएर बेस क्याम्पमा लगेको पनि लालमती देवीले बताइन्।
उनका अनुसार आफू सधैं बस्न मिल्ने निजी जग्गा नभएका कारण सरकारी जग्गामा टहरा बनाई केही वर्षदेखि बस्दै आएकी हुन्। तर स्थानीय बासिन्दाहरूका अनुसार भिखमपुरमै लालमती देवीको आफ्नै ३ कठ्ठा जग्गा रहेको बताएका छन्। साथै, उनले छोरीको विवाहका लागि सामाजिक सुरक्षा भत्ता वापत जम्मा गरिएको ४८ हजार रुपैयाँ र पसलको रकमसमेत हराएको दाबी गरेकी छन्।
यसै सन्दर्भमा, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प भिखमपुरका प्रमुख डिएसपी रमेश कुमार गुरुङले जानकारी गराएअनुसार टहराको नजिकै प्रहरीको गस्ती बिट रहेको छ, जहाँ नियमित रूपमा ड्युटी हुने गर्दछ। टहराको छानामाथि दुई दिशा–पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण–बाट क्रस गर्दै ३३ केभीको विद्युत् लाइनको तार रहेकोले गर्मीयाममा आगोको झिल्का खस्न सक्ने सम्भावना थियो। यसले भौतिक तथा मानवीय क्षति पुर्याउने जोखिम भएकाले टहरा हटाउन बारम्बार आग्रह गर्दा पनि टहरा नहटाएपछि सो टहरा हटाइएको हो।
प्रहरी प्रमुख गुरुङका अनुसार नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगञ्ज, नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्र, इलाका प्रहरी कार्यालय जानकिटोला, धोविनी गाउँपालिका–२ वडा कार्यालयको समन्वयमा जोखिम न्यूनीकरण गर्न टहरा हटाइएको हो।
उनले थप बताएअनुसार टहरा हटाउँदा त्यहाँ रहेका व्यक्तिहरूले आफूले सामानहरू बाहिर निकालेपछि ती सामानहरू नारायणी सिँचाइ डिभिजन कार्यालय भिखमपुरमा सुरक्षित रूपमा राखिएको हो।









