उमेश रोकाया
बाजुरा,चैत ३० । राष्ट्रिय संगीतकर्मी संघ बाजुराका महासचिव तथा पत्रकार गोविन्द्र राज तिमिल्सेनाले रक्तदान गर्नुभएको छ। रगत अभावमा जिल्ला अस्पताल बाजुराको शैयामा रहेकी जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ जडाङ्गाकी २६ बर्षकी चन्दा कुमारी रौलेलाई महासचिव तिमिल्सेनाले रक्तदान गर्नुभएको हो।
विगत ४ बर्ष देखि पत्रकारीता संगै सामाजिक कार्य गर्दै आईरहेका तिमिल्सेनाले चन्द्रालाई रक्तदान गरेर सहजता गर्नुभएको हो।बाँयापट्टीको मृगौला फालेको र दाँयापट्टीको मृगौलाले काम नगर्ने र प्रत्येक हप्ता मृगौलाको डायलासेस गर्नु पर्ने समस्या चन्द्रामा थियो।
डायलासेस गर्नु पुर्व रगत चढाउने पर्ने र शरिरमा रगतको मात्रा पनी कम भएको अवस्थामा पत्रकार तिमिल्सेनाले उनलाई रगत दिएका हुन्। चन्द्राको यस भन्दा पहिले २०८१ साउन १३ गते मृगौलाको अप्रेशन गरिएको थियो। मृगौला पिडित चन्द्राको एकै मृगौलाले राम्रोसँग काम नगर्ने हुँदा मृगौलाको डायलासेस र रगत चढाउनु पर्ने बाध्यता रहेको छ ।
मृगौलाको समस्या सङ्गै रगतको मात्रा कम भएर हिजो राती जिल्ला अस्पताल ल्याईएकी चन्द्रालाई रगत चढाउनु पर्ने डाक्टरहरुले भनेका थिए ।उनमा द्य पोजेटिभ रगतको आवश्यक थियो भने उनका आफन्तजन रगतको खोजीमा थिए । चन्द्रालाई रगत चाहिएको खवर सुन्ने बितिक्कै तिमिल्सेना अस्पतालमा पुगेर रगत दिएका हुन्।
हेमोग्लोविनको मात्रा घटेर लेबल ६ सम्म पुगेको अवस्थामा पत्रकार तिमिल्सेनाले चन्द्रालाई रगत दिएका हुन्।मृगौलाको समस्या बाट पिडित चन्द्रा हरेक समय बिरामी पर्दै आएकि छन्। घरको आर्थिक अवस्था पनि कमजोर भएकोले उनको राम्रोसँग उपचार हुन सकेको छैन्।रगत आवश्यक हुँदा तत्काल अस्पताल रगत उपलब्ध गर्न समस्या भईरहेको बेला तिमिल्सेनाले उक्त रगत आफु सङ्ग भएको जानकारी गराए पश्चात् क्रस म्याच गराएर रक्तदान गरेका हुन्।
रगत दान गर्नु भनेको जीवन दान गर्नु जत्तिकै भएकोले आफुले अस्पतालमै पुगेर चन्द्रालाई रगत दिएको तिमिल्सेनाले भने। वि पोजेटिभ रगतको खोजीमा चन्द्रा रहेको खबर सुन्दा हतार हतामा अस्पतालमा पुगेर रगत दिएको तिमिल्सेनाले बताए । रगत दिएर कसैको ज्यान जोगिन्छ भने आफु सङ्ग मिल्ने रगत कोहि कसैलाई जतिसुकै बेला पनि आफू दिन तयार रहने उनले भने।बाजुरा अस्पतालमा रगत कुरिरहेकी चन्द्रा एक उदाहरण पात्र मात्रै हुन्।अस्पतालमा यस्ता थुप्रै बिरामी आउने गरेको भए पनि सहज उपचार हुन नसकेको उनले बताए ।
ब्लड बैंक नहुदा बाजुरामा कहिले पत्रकार,कहिले प्रहरी लगायतले रगत दिएर ज्यान जोगाउनु पर्ने अवस्था रहेको छ । बाजुरामा उचित किसिमको ब्लड बैंक नहुदा समस्या हुँदै आएको छ । कतिपयले रगत पाए पनि कतिपयले अकालमै मर्नु पर्ने बाध्यता पनि रहेको छ ।स्थानीयहरुले ब्लड बैंकको स्थापना गर्न माग गरे पनि त्यो माग पूरा हुन सकेको छैन ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराले ब्लड बैंक स्थापनाको लागी रेडक्रस र जिल्ला स्वास्थ कार्यालयलाई ब्लड बैंक स्थापनाको लागी छिट्टै काम गर्न आग्रह गरे पनि पुरा हुन सकेको छैन्। केही महिना अगाडि जिल्ला स्थित सरोकारवाला निकायको बैठकले जिल्लामा अब चाडै ब्लड बैंक स्थापना गर्ने निर्णय समेत गरेको थियो। त्यहीँ निर्णयमा यहाँका स्थानीय आशावादी रहेको बताए ।









