निता चौधरी
दाङ, २९ चैत्र । दाङमा यस वर्ष गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ । गहुँ खेती हुने क्षेत्रफल घटेकाले गहुँ उत्पादन घट्ने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र दाङले दिएको तथ्याँक अनुसार जिल्लामा प्रत्येक वर्ष गहुँ खेती हुने क्षेत्रफल घट्दै गएको देखिएको छ । क्षेत्रफल घटेकाले उत्पादन पनि घट्ने अनुमान गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष करिब एक सय हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ११ हजार ४ सय ३० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ । गत वर्ष भने ११ हजार ५ सय ३० हेक्टरमा गहुँ खेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको गहुँखेतीबाट ३५ हजार ७ सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । यसै गरी आर्थिक वर्ष २०७८र०७९ मा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेतीबाट ३९ हजार २ सय १५ मेट्रिकटन उत्पादन भएको थियो ।
जिल्लाका १० वटै स्थानिय तहमा गहुँ खेती हुने गरेको छ तर सिंचाइको सुविधा भएको पालिकामा गहुँ भन्दा तोरी खेती धेरै हुने गरेको सुचना अधिकारी लामिछानेको भनाइ छ । किसानहरू तोरी बालीमा बढी आकर्षित भएपछि गहुँ लगाउने क्षेत्रफल र गहुँको उत्पादनमा कमी आउन थालेकोे कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार तोरी काटेर फेरी चैते मकै लगाउने भएकाले किसानहरूले गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् । तोरी गहुँभन्दा छिटो र केही सहज हुने बाली भएकाले धेरै आम्दानी गर्ने उद्देश्यले गहुँ लगाउन छोडेर तोरी लगाउन थालेपछि गहुँ खेती गर्ने क्षेत्रफल घटेको उहाँको भनाइ छ । तोरी काटेर फेरी चैते मकै लगाउने र मकै पछि फेरी वर्षे धान लगाउने भएकाले किसानहरू गहुँभन्दा तोरीमा आकर्षित भएका हुन् । गहुँ लगाएपछि वर्षामा धान लगाउन ढिलाइ हुने भन्दै किसानहरू गहुँ लगाउन छोडेर तोरी लगाउन थालेका हुन् ।।









