सविता न्यौपाने, काभ्रे
साधारण जीवनशैली, उच्च विचारका धनी, सबैसँग समान व्यवहार गर्न सक्ने क्षमता अनि सकारात्मक सोचका साथ अघि बढ्नु पर्छ भन्ने मान्यता राख्ने १८ वर्षीय प्रोशेष पाण्डे पिता प्रकाश चन्द्र पाण्डे (विकास पाण्डे) तथा माता शुभद्रा पाण्डेको कोखबाट २०६३ असारमा जन्मिएका हुन्। पुख्यौली धादिङ भए पनि काठमाडौंमा जन्मिएर हुर्किए। कीर्तिपुरस्थित ल्याब्रोटरीमा विद्यालय स्तरको पढाइ सकेर हाल सामाखुशीस्थित तक्षशिला एकेडेमीमा कक्षा १२ अध्ययन गर्दै छन्।
सानै उमेरदेखि गीत गाउन मन पराउने पाण्डे बहुमुखी प्रतिभाका धनी हुन्। तर गायनमा उनको विशेष रुचि रहेको बताउँछन्। आफू सानो हुँदा अहिलेको जस्तो टेलिभिजन, रेडियो धेरै नहुने र भए पनि त्यहाँसम्म पुग्ने माध्यमको ज्ञान नभएको प्रति उनी गुनासो गर्छन्। “कतै रेडियो, टेलिभिजनमै मानिसहरू हुन्छन् र त्यहीँबाट गाउने हो कि भन्ने सोच्थेँ। पछि मात्र थाहा पाएँ, माध्यमहरू धेरै रहेछन्,” उनी सम्झन्छन्। जहाँ इच्छा, त्यहाँ उपाय भन्ने कुरालाई उनले जीवनमा आत्मसात् गरेका छन्।
रेडियो नेपालका विभिन्न कार्यक्रममा भाग लिइसकेका उनले उत्कृष्ट प्रदर्शन गरेका छन्। आफूलाई ‘कर्म दिने बाबा’ रमेश सुवेदी भएको बताउने उनी, उहाँकै मार्गदर्शनले यहाँसम्म आइपुगेकोमा गर्व महसुस गर्छन्। विद्यालयका विभिन्न कार्यक्रममा भाग लिंदै, ‘सा रे ग म प’ मा समेत सहभागिता जनाइसकेका उनी सबैबाट वाहवाही पाउँदा थप ऊर्जा प्राप्त भएको अनुभव सुनाउँछन्।
परिवारमा कोही पनि सांगितिक क्षेत्रमा नलागेको भए पनि उनलाई पारिवारिक सद्भाव र सहयोग प्राप्त भइरहेको छ। विशेष गरी, ठूलोबुबा दीपक के.सी. को प्रेरणाले उनी ‘भ्वाइस अफ नेपाल’ सिजन ६ मा आउन सफल भएका छन्। भ्वाइस अफ नेपालको सिजन १ देखि नै कार्यक्रम हेर्दै आएको उनले बताए। “ओहो, मेरो सपनाको संसार त यही पो रहेछ!” भनेर उनले मनमनै सोच्ने गर्थे। सिजन ६ सम्म आइपुग्दा उनले भाग लिने दृढ निश्चय गरेका थिए।
तर, उनलाई यहाँसम्म आइपुग्न सहज थिएन। किनभने उनी अरू मानिसझैं सामान्य छैनन्— उनी जन्मदेखि नै दृष्टिविहीन (ब्लाइन्ड) हुन्। हरेक परिस्थितिसँग जुध्ने क्षमता जो-कोहीसँग हुँदैन। भाग्यभन्दा धेरै र समयभन्दा बढी कसैले केही नपाउने उनको मान्यता छ।
५५ हजार जनाले डिजिटल अडिसन दिएका थिए, जसबाट ब्लाइन्ड अडिसनको लागि कल आउँदाको क्षण सम्झँदा उनी भावुक हुन्छन्। “मेहनत र धैर्य गर्नु पर्छ। जित सदैव आफ्नै हातमा हुन्छ भन्ने कुरामा विश्वास गर्छु,” उनी भन्छन्। रियालिटी शो चल्दै गर्दा विभिन्न ठाउँबाट गीत गाउने अवसर पाइरहेकोमा उनी हर्षित छन्। दर्शक-श्रोताको अपार माया र भोटले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को विजेता आफू नै हुनेमा उनी विश्वस्त छन्।









