पर्सा
वीरगंजको आदर्शनगरस्थित बालाजी टी स्टल का सञ्चालक प्रेम कुमार गुप्ता द्वारा रमजानको अवसरमा आयोजित सामूहिक इफ्तारी कार्यक्रमले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यो कार्यक्रम विशेष रूपमा मुस्लिम समुदायका लागि आयोजना गरिएको थियो, तर कार्यक्रममा हिन्दू-मुस्लिम समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो। प्रेम कुमार गुप्ताले समाजमा आपसी प्रेम, भाईचारा र एकता कायम राख्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको बताए।
उनले भने, “हामी सबै एउटै समाजका हिस्सा हौं। धर्म फरक भए पनि हामी सबै नेपाली हौं। रमजानको यस पवित्र अवसरमा मैले आफ्नो तर्फबाट सानो प्रयास स्वरूप यो कार्यक्रम आयोजना गरेको हुँ।”
सामूहिक इफ्तारी कार्यक्रममा विभिन्न जाति, धर्म र समुदायका व्यक्तिहरू सहभागी थिए। कार्यक्रमको दौरान उपस्थित मुस्लिम समुदायका व्यक्तिहरूले हिन्दू युवाद्वारा गरिएको यो कार्यको खुलेर प्रशंसा गरे।
स्थानिय समाजसेवी रफीक अहमद का अनुसार, “यस्तो खालका कार्यक्रमहरूले समाजमा आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। हिन्दू युवाद्वारा आयोजित इफ्तारी कार्यक्रमले हाम्रो समाजमा सकारात्मक सन्देश पुर्याएको छ।”
प्रेम कुमार गुप्ताले आफ्नो टी स्टलमा हुने दैनिक भेटघाटहरूबाट सबै धर्मका मानिसहरूलाई नजिकबाट चिनेका कारण आपसी प्रेम र एकताको महत्व बुझ्ने अवसर पाएको बताए। उनले भने, “समाजमा यदि माया, सद्भाव र आपसी सहयोग कायम गर्यौं भने हाम्रा सबै समस्या समाधान गर्न सकिन्छ।”
प्रेम कुमार गुप्ताले गरेको यो कार्य वीरगंजमा मात्र नभई देशभरिका युवाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ। यस्तो कार्यले धार्मिक भिन्नता भुलाएर मानवता र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ।









